• मंगलबार ७-११-२०८३/Tuesday 10-27-2026
खेलकुद

मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्स क्लबको ७-० को शानदार जित

संखुवासभा -संखुवासभाको मादी नगरपालिकाको, मूलखर्कमा जारी प्रथम मझिया स्मृति कप २०८३ आमन्त्रित  महिला फुटबल प्रतियोगिताको सोमबार समन्न दोस्रो क्वार्टरफाइनल खेलमा पदमा स्पोर्ट्स क्लब, ओखलढुङ्गाले बेलबारी फुटबल क्लब, मोरङलाई ७–० गोल अन्तरले पराजित गरेको छ ।

 खेलमा सिम्रन गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गरिन् । उनी ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

पदमा स्पोर्ट्स क्लबका लागि खेलको ३१औँ मिनेटमा सुक्रीय मगरले पहिलो गोल गरिन् । त्यसपछि सिम्रन गुरुङले पहिलो हाफको अतिरिक्त समयमा दुई गोल गरिन् भने भूमिक बुढाथोकीले पनि अतिरिक्त समयमै एक गोल थपिन् ।

दोस्रो हाफमा पनि पदमा स्पोर्ट्स क्लबले आक्रामक खेललाई निरन्तरता दियो । सिम्रन गुरुङले २५औँ मिनेटमा व्यक्तिगत तेस्रो तथा टोलीका लागि पाँचौँ गोल गरिन् । त्यसको तीन मिनेटपछि  सिर्जना बदुवालले छैटौँ गोल गरिन्। खेलको ३३औँ मिनेटमा सिम्रनले व्यक्तिगत चौथो गोल गर्दै टोलीको जित ७-० ले सुनिश्चित गरिन् । खेलमा बेलबारी फुटबल क्लबले गोल फर्काउन सकेन ।

 

स्वर्गीय मानबहादुर जिमी ‘मझिया’को स्मृतिमा आयोजित प्रतियोगिता मझिया मानबहादुर जिमी स्मृति प्रतिष्ठानको आयोजना तथा हाङ्थुम क्लबको सह-आयोजनामा सञ्चालन भइरहेको छ। प्रतियोगितामा आठ टोली सहभागी छन् ।

प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई २१ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने खेल संयोजक असिम जिमीले बताए  ।

प्रतियोगिता अन्तर्गत तेस्रो क्वाटर फाइनल खेल मंगलबार फेदाप गाउँपालिका, पोक्लावाङ, तेह्रथुम र डीवाईसी साँगुरीगढी, भेडेटार, धनकुटाबीच खेल हुनेछ । प्रतियोगिताको कार्ईनल कात्तिक १३ गते हुनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार