मझिया स्मृति कप महिला फुटबल : तेहथुमको फेदाप गाउँपालिका सेमिफाइनलमा प्रवेश
संखुवासभा - संखुवासभाको मादी मूलखर्कमा जारी प्रथम ‘मझिया स्मृति कप आमन्त्रित महिला फुटबल प्रतियोगिताको तेस्रो क्वाटरफाइनल खेलमा तेह्रथुमको फेदाप गाउँपालिका सेमिफाइनलमा प्रवेश भएको छ ।
मंगलबार सम्पन्न खेलमा तेह्रथुमले धनकुटाको डीवाईसी साँगुरीगढीलाई ४-० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
खेल सुरु भएको पहिलो मिनेटमै अनिता राना मगरले गोल गर्दै फेदापलाई अग्रता दिलाइन् । उनले खेलको १६ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । त्यस्तै, २१औँ मिनेटमा पेन्जु राईले गोल थपिन् । खेलको २३औँ मिनेटमा अनिताले व्यक्तिगत तेस्रो गोल गरेपछि फेदापको जित ४-० ले सुनिश्चित भयो।
खेलको बाँकी समयमा डीवाईसी साँगुरीगढीले गोल फर्काउन सकेन । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी अनिता राना मगर ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
प्रतियोगिता मझिया मानबहादुर जिमी स्मृति प्रतिष्ठानको आयोजना तथा हाङ्थुम क्लबको सह-आयोजनामा सञ्चालन भइरहेको छ। प्रतियोगितामा आठ टोली सहभागी छन्।
प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ र उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई २१ हजार रुपैयाँ तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताअन्तर्गत बुधबार सातदोबाटो युथ क्लब, ललितपुर र ओएसिस क्लब, इलामबीच चौथो तथा अन्तिम क्वाटरफाइनल खेल हुनेछ ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस